झापा, कार्तिक ७ । नेपालमा पहिलो पटक कोरोना भाइरसको विकसित रुप ओमिक्रोनको सबभेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गत साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट XBB पहिचान गरिएको जनाएको हो ।
XBB भेरिएन्ट छिमेकी मुलुक भारतमा देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्धको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ ।
पछिल्लो समय विभिन्न देशहरुमा कोरोनाको संक्रमण ह्वात्तै बढिरहँदा यही XBB भेरिएन्टले तीव्रता पाएको अनुमान गरिएको छ । नेपालमा पनि यो भेरियन्टले दुःख दिने आँकलन गर्दैै मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति:
सोमबार, कात्तिक ७, २०७९, १६:१३:००