झापा, असोज २ । समयमा नै निर्वाचन खर्च नबुझाएकाले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना कुमारी पोखरेल(उप्रेती) ले निर्वाचन आयोगमा ९ लाख रुपैया जरिमाना बुझाउनु पर्ने भएको छ ।
बैशाख ३० गतेसम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को चुनावी खर्च समयभित्र नबुझाएका कारण नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीलाई जनही ४ लाख ५० हजार दरले जरिमाना बुझाउन निर्वाचन आयोगले सूचना जारी गरेको छ ।
त्यस्तै नेपाली काँग्रेसबाट मेचीनगरको प्रमुख पदका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले भने चुनावी खर्च विवरण समयमा नै बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ । नगरको उपप्रमुखको उम्मेद्वार हुनु भएका नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले समेत चुनावी खर्च विवरण पेश नगरेकाले ४ लाख ५० हजार जरिमाना तिर्नु पर्ने भएको छ ।
राप्रपाका तर्फबाट नगर उपप्रमुखमा उम्मेद्वार रहनु भएकी सविना बजगाई, नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेद्वार बन्नु भएकी शारदा शर्मा र स्वतन्त्र उम्मेद्वार डिल्लीराम घिमिरेले समेत चुनावी खर्च विवरण पेश नगरकाले जरिमाना बापत जनही ४ लाख ५० हजार बुझाउनु पर्ने भएको छ ।
निर्वाचन सम्पन्न भएको ३० दिन भित्र सबै उम्मेद्वारहरुले निर्वाचनमा लागेको खर्चको विस्तृत विवरण निर्वाचन आयोगमा अनिवार्य पेश गर्नु पर्ने कानूनी व्यवस्था छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन खर्च पेश गर्ने र नगर्नेको उम्मेद्वारहरुको सूची ।

प्रकाशित मिति:
आईतबार, असोज २, २०७९, ०५:५२:००