झापा, भदौ २३ । नेपालका हरेक पहाडी जिल्लामा कोदो खेती गर्न सकिने भए पनि विदेशी कोदोले मुलुकको माग धान्दै आइरहेको छ । नेपाली बजारमा वार्षिक ३ लाख २३ हजार मेट्रिक टन कोदोको माग छ । मागमध्ये देशको उत्पादन झण्डै ३ लाख २१ हजार मेट्रिकटन हुने गरेको छ । बाँकी माग भने विदेशी कोदोले धान्दै आइरहेको छ । बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा, खोटाङ, सिन्धुपाल्चोक लगायतका पहाडी जिल्लामा डल्ले, झुप्पे, चुल्ठे, दूधे लगायत ५० जातका कोदोको खेती हुँदै आएको छ । तर गाउँघरमा खानामासँगै अन्य प्रयोगमा पनि कोदो घट्दै गएपछि खेती पनि घट्दै गएको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका कार्यक्रम संयोजक केदार कोईरालालाले बताउनुभयो ।
आर्थिक वर्ष २०७५÷७६ को अध्ययनअनुसार देशभर दुई लाख ६३ हजार चार सय ९७ हेक्टरमा कोदो खेती गरिएकामा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो । २०७६÷७७ मा खेतीको क्षेत्रफल घटेर दुई लाख ६२ हजार पाँच सय ४७ मा सिमित भएपनि उत्पादन भने तीन लाख २० हजार नौ सय ५३ मेट्रिक टन भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले कोदोको संरक्षण र विस्तारका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो । समुन्द्र सतहबाट तीन हजार एक सय मिटर उचाईसम्म कोदोको खेती गर्न सकिन्छ । तर खेती योग्य जमिनमध्य ७.७ प्रतिशत क्षेत्रफलमा मात्रै कोदोको खेती हुने गरेको छ ।
प्रकाशित मिति:
बिहिबार, भदौ २३, २०७९, ०९:५२:००