काठमाण्डौ, भदौ २१ । नेपाली टिमुरको माग विदेशमा उच्च भए पनि व्यावसायिक उत्पादन हुन सकेको छैन । नेपालका ३८ जिल्लाको हावापानी टिमुर खेतीका लागि उपयुक्त भए पनि टिमुरको राम्रो उत्पादन हुने जिल्लामा पनि यसको व्यावसायिक उत्पादन भएको छैन । सरकारसँग देशमा कति टिमुर उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्क छैन भने कति किसान टिमुर खेतीमा लागिरहेका छन् एकीकृत जानकारी पनि नभएको वन तथा भु–संरक्षण विभागका सहायक वन अधिकृत सुरेन्द्र अधिकारीले बताउनुभयो ।
टिमुरले रोपेको तीन वर्षपछि फल दिन सुरु गर्छ । हरेक बोटबाट औसत तीन किलोसम्म फल प्राप्त गर्न सकिन्छ । नेपाली बजारमा यसको मूल्य प्रतिकिलो ९ सय रहेको छ भने अन्तर्राष्ट्रिय बजारमा पुग्दा प्रतिकिलो चौध सयसम्म पर्न जान्छ । नेपालको टिमुरको माग अमेरिका र युरोपका देशमा छ । भन्सार विभागको तथ्याङ्क अनुसार अमेरिकामा मात्रै गत आर्थिक वर्षमा एक लाख ८० हजार किलो नेपाली टिमुर निर्यात भएको छ । टिमुर खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन सरकारको ध्यान केन्द्रीत भएको वन तथा वातावरण मन्त्री प्रदिप यादवले बताउनुभयो ।
टिमुरको कलमी गरेको हाँगा वा बिरुवा दुबै सार्न सकिन्छ । सिँचाइ सुविधा नभएको स्थानमा मनसुनको समयमा र सिँचाइ सुविधा भएको ठाउँमा फागुन महिनामा यसलाई रोप्न सकिन्छ । टिमुरलाई भान्छामा मसलाको रुपमा प्रयोग गरिनुका साथै विभिन्न स्वास्थ्य समस्या कम गर्न पनि प्रयोग गर्ने गरिएको छ । नेपाली टिमुरको माग अन्तर्राष्ट्रिय बजारमा माग उच्च भए पनि माग अनुसारको उत्पादन भने बढ्न सकेको छैन ।
प्रकाशित मिति:
मंगलबार, भदौ २१, २०७९, ०९:५१:००