झापा, साउन १८ । बिर्तामोड, साउन १८ । झापाको अर्जुनधारा–८ स्थीत शनिश्चरे माविका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानविनको प्रक्रिया शुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक चेतामणि (सि.एम) खनालले आर्थिक अनियमितता गरेको बारे सञ्चारमाध्यममार्फत सार्वजनिक भए पछि अनुसन्धानका लागि प्रक्रिया शुरु भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयका सूचना अधिकारी निरजकुमार देवले सेतोपत्रलाई बताउनु भयो । ‘प्रधानअध्यापकले अनियमितता गरेको सार्वजनिक भए पछि अनुसन्धानको प्रारभ्भिक प्रक्रिया शुरु भएको छ,’ सूचना अधिकारी देवले भन्नुभयो, ‘हामीले छानविन अगाडी बडाउने प्रक्रियाका लागि केन्द्रिय स्क्रीनिङ कमिटिमा फायल पठाएका छौं ।’
प्रधानाध्यापक खनालले कक्षा नपढाए पनि पढाएको भर्पाइ बनाएर रकम नियमित बुझिलिएको, आफैंले सञ्चालन गरेको पसलको बिल प्रयोग गरी विद्यालयबाट रकम निकासा गरेको तथा फर्जी बिल बनाएर नगरपालिकामा भुक्तानी माग गरेको लगायतका बिषय विद्यालयको शिक्षक अभिभावक संघले गठन गरेको छानविन समितिले बुझाएको प्रतिवेदनका उल्लेख गरिएको छ ।
खनालले आफू प्रधानाध्यापक भएयता शैक्षिकसत्र २०७६ देखि दुई पिरियड नपढाइकन मासिक रूपले २ पिरियडको दरले रकम र थप गैरकानुनी भत्तासमेत गरी २ लाख ६१ हजार ६ सय र २०७८ मा एकै पिरियड नपढाई ३ पिरियडका दरले भत्तासहित २ लाख ९ हजार ३ सय गरी कुल ४ लाख ७ हजार ९ सय रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘विद्यालयमा कक्षा ११ र १२ मा विगतदेखि नै स्वास्थ्य र शारीरिक शिक्षाको पठनपाठन हुने गरेको र उपलब्ध शिक्षकहरूबाट कक्षा सञ्चालन हुने गरेको प्रधानअध्यापक खनालले बताउनु भयो । वहाँले भन्नुभयो, ‘विषयगत शिक्षकको अभाव हुने देखेपछि उक्त विषयको पठनपाठन बन्द गर्ने निष्कर्षमा विद्यालय पुगेको हो ।’ प्रधानाध्यापक खनालले प्रतिवेदनमा लगाइएको आरोपको खण्डन समेत गर्नु भएको छ ।
विद्यार्थी नपढाए पनि तलब र भत्ता बुझिरहेको तथा प्रधानाध्यापककै प्रत्यक्ष संलग्नतामा चरम आर्थिक अनियमितता भएको विद्यालयको शिक्षक–अभिभावक संघद्वारा सामाजिक परीक्षण प्रतिवेदन अध्ययन उपसमिति बनाएर अनियमितताबारे गहिरो अध्ययन गरेको थियो ।