झापा, असार १० । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्व पश्चिम विद्युतिय रेलमार्गमा जग्गा परेकाहरुलाई तत्काल मुआब्जा उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवासंग कुरा गर्ने बताउनु भएको छ ।
काँग्रेस पुर्व महामन्त्री तथा पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता सिटौलालाई भेट गर्न बिहिबार झापा चन्द्रगढीस्थीत वहाँकै निवास पुगेका रेलवे प्रभावितहरुको टोलीसंग कुरा गर्दै वहाँले सरकारले जग्गा रोक्का गरेर पछि तत्काल मुआब्जा दिनु पर्नेमा यतिलामो समयसम्म मुआब्जा नदिनु अन्याय भएको भन्दै यस बिषयमा प्रधामन्त्री देउवासंग कुरा गर्ने बताउनु भयो ।
रेलवे प्रभावित मुआब्जा निर्धारण तथा समन्वय समितिका अध्यक्ष डा लक्ष्मीप्रसाद मैनाली, उपाध्यक्ष ओम बिमली, महासचिव रञ्जित प्रसाई र सचिव ज्ञानेन्द्र निरौलाले नेता सिटौलालाई पाँच बुंदे ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुज्दै नेता सिटौलाले भन्नुभयो, ‘तपाईहरुको माग जायज छ, मुआब्जा तत्काल वितरण सुरु गर्न प्रधानमन्त्रीसंग म कुरा गर्छु ।’
झापा, मोरङ र सुनसरीका ५ हजार ४ सय २४ कित्ता जग्गा दुई बर्षदेखि पूर्व पश्चिम रेलमार्गका लागि सरकारले रोक्का गरेको छ । उक्त जग्गामा अहिले रेल मार्ग निमार्णका लागि डिमार्केशन गरी कंक्रिट पिल्लर राख्ने काम समेत सम्पन्न भइसकेको छ ।
प्रकाशित मिति:
शुक्रबार, असार १०, २०७९, ०७:३५:००