काठमाण्डौ, असार ८ । करिब आठ वर्षको अनुसन्धानपछि धानका दुई नयाँ जात विकास भएको छ । नार्कअन्तर्गत राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्रले खुमल १२ र खुमल १४ नामक उन्नत जातको धान विकास गरेको हो । विशेषगरी मध्यपहाडी क्षेत्रका किसानले लगाउँदै आएको खुमल ४ जातको धानमा रोगकीरा लाग्ने, उत्पादन घट्ने समस्या देखिएपछि विकल्पको रुपमा विकास गरेको धानको नयाँ जात राष्ट्रिय बीउविजन समितिले अनुमोदन गरी राजपत्रमा प्रकाशन गरिसकेको छ । अर्को नयाँ खुमल बासमती १६ जातको धानलाई समितिले अनुमोदन गरे पनि राजपत्रमा भने प्रकाशन हुन बाँकी छ ।
नयाँ जातको धानलाई किसानले तत्कालै खेती गर्नसक्ने राष्ट्रिय बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले जानकारी दिनुभयो । सरकारले विशेषगरी गण्डकी प्रदेशका जिल्लामा खेती हुँदै आएका धानका ५ रैथाने जात सूचीकृत समेत गरेको छ ।
एक्ले, रातो अनदी, कालो झिनुवा, बयर्नी र पहेंले नामका रैथाने जात समुद्री सतहबाट ८ सयदेखि १ हजार मिटरसम्ममा लगाउन मध्यपहाडी क्षेत्रमा सिफारिस गरिएको छ । नेपालमा १ सय २० भन्दा बढी जातको रैथाने तथा उन्नत जातको धान सूचीकत भएका छन् जसमध्ये ५० भन्दा बढी प्रचलनमा छ ।
प्रकाशित मिति:
बुधबार, असार ८, २०७९, ०८:५९:००