काठमाण्डौ, असार २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व पश्चिम रेलमार्गमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन आफुले पहल गर्ने बताउनु भयो । बिहिबार विहान माओवादी केन्द्रिय कार्यालय पेरिस डाँडा पुगेको रेल प्रभावितहरुसंगको भेटमा प्रचण्डले जग्गा रोक्का राखेको यति लामो समयसम्म पनि मुआब्जा नदिनु गलत भएको भन्दै आफुले तत्काल मुआब्जाका लागि पहल गर्ने बताउनु भयो । ‘जग्गा रोक्का राखेपछि व्यवहार सबै ठप्प हुन्छ,’ प्रचण्डले भन्नुभयो,‘मुआब्जाका लागि तत्काल पहल गर्छु ।’
प्रभावितहरुको तर्फबाट पूर्वपश्चिम रेलमार्ग मुआब्जा निर्धारण तथा समन्वय समितिका अध्यक्ष डा.लक्ष्मीप्रसाद मैनालीको नेतृत्वमा भेट गर्न पुगेको प्रतिनिधि मण्डलसंग कुरा गर्दै प्रचण्डले रेल प्रभावितहरुको समस्या आफुले बुझेको र समाधानका लागि पहल गर्ने समन्वय समितिका अध्यक्ष मैनालीले बताउनु भयो ।
प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै रेल प्रभावितहरु ।
समन्वय समितिका अध्यक्ष डा. मैनालीले मुआब्जाको व्यवस्था नहुँदा प्रभावितहरुले भोग्नु परेको अप्ठ्यारोका बारेमा माओवादीका अध्यक्ष प्रचण्डलाई जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाउनु भएको थियो ।
प्रचण्डसंगको भेटमा प्रभावितहरुका तर्फबाट समन्वय समितिका उपाध्यक्ष रमेश दाहाल, शुशिल शाह, ओम विमली, महासचिव रञ्चित प्रसाई, सचिव ज्ञानेन्द्र निरौला, सदस्य विश्वराज न्यौपाने र निर्माण व्यवशायी रामप्रसाद मैनालीको उपस्थिति रहेको थियो ।
पूर्वपश्चीम विद्युतिय रेलमार्गका लागि सरकारले २०७७ जेठ २४ र २७ गते झापा, मोरङ र सुनसरीका ५ हजार ४ सय २४ कित्ता जमिन रोक्का गरेको भए पनि अहिलेसम्म मुआब्जा दिएको छैन ।
प्रकाशित मिति:
बिहिबार, असार २, २०७९, १२:४०:००