झापा, जेठ २७ । चितवनमा नयाँ प्रजातिको चरा भेटिएसँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । नेपाल पंक्षिविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार चितवनको खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । ६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो ।
नयाँ चरा भेटिएपछि चराविज्ञ डा. हेमसागर बरालसहितको विज्ञ समूहले थप अध्ययन गरेको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउनुहुन्छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ ।
प्रकाशित मिति:
शुक्रबार, जेठ २७, २०७९, ०९:१२:००