मेचीनगर, जेठ १० । मेचीनगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अबको पाँच बर्ष मेचीनगरमा नराम्रो काम गरेको कसैले सुन्नु नपर्ने बताउनु भएको छ ।
आज इटाभट्टामा आयोजित विजयी सभालाई सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘हामी राम्रो काम गर्नेछौं, नराम्रो काम गरेको सुन्नु हुनेछैन ।’
नेकपा एमालेका प्रदेश कमिटि सदस्य समेत रहनु भएका बुढाथोकीले अब परम्परात शैलीमा मेचीनगरले काम नगर्ने समेत बताउनु भयो । ‘हामी परम्परागत शैलीको शासनलाई निरन्तरता दिने पक्षमा छैनौं,’ बुढाथोकीले भन्नुभयो, ‘हामी जनताको पक्षमा काम गर्ने गरी लागि पर्नेछौं ।’ जनताले चित्त बुझाउने गरी राम्रा कामहरु अबको पाँच बर्ष मेचीनगर नगरपालिकाले गर्ने बुढाथोकीले बताउनु भयो ।
विजय सभामा प्रमुख अतिथि एमाले स्थायी कमिटि सदस्य तथा झापा इन्चार्ज अग्नी खरेल, एमाले नेता विष्णु प्रसाई, एमाले केन्द्रिय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइराला लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
आज र भोलि नेकपा एमालेले मेचीनगरका सबै वडाहरुमा विजय उत्सव मनाउने र उत्सवका अवसरमा नेताहरुले विभिन्न स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले मेचीनगरले जनाएको छ ।
प्रकाशित मिति:
मंगलबार, जेठ १०, २०७९, १४:१४:००