झापा, जेठ १० । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको झापामा मतगणना सकिएर सबै पालिकाको अन्तिम मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । झापाका १५ पालिका मध्ये प्रमुख तथा अध्यक्षमा नेकपा एमालेले ७ वटा र उपप्रमुख तथा उपाध्यक्ष १० वटा जित हासिल गरेको छ । त्यस्तै ६ वटा पालिकाको मुख्य दुई पदमा एमाले विजयी भएको छ ।
त्यसगरी नेपाली काँग्रेस ६ वटा प्रमुख तथा अध्यक्ष र ३ वटा उपप्रमुख तथा उपाध्यक्षमा विजयी बनेको छ । काँग्रेसले झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाका २ वटा प्रमुख तथा अध्यक्ष जितेको छ भने २ वटा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै राप्रपाले जितेको छ ।
त्यस्तै जिल्लाका १३१ वडामा नेकपा एमालेले ६१ वटा वडा अध्यक्षमा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ५१ वटा वडा अध्यक्ष जितेको छ । त्यस्तै राप्रपा र माओवादी केन्द्रले ७/७ वटा वडा अध्यक्ष जितेका छन भने नेकपा एकीकृत समाजवादीले एउटा वडा अध्यक्ष कमल गाउँपालिका २ मा जितेको छ । झापामा ४ जना स्वतन्त्र उम्मेद्वारहरुले वडा अध्यक्षमा जित दर्ता गराएका छन ।
प्रकाशित मिति:
मंगलबार, जेठ १०, २०७९, १०:१०:००