काकरभिट्टा, जेठ ४ । १७ मे तारिकका दिन विश्वभरि मनाइने विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर आज झापाको काकरभिट्टामा स्वास्थ्य परीक्षण र रक्तचाप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केएचडिसि कार्यक्रमको प्राविधिक सहयोगमा मेची अभियानद्वारा आयोजना गरिएको कार्यक्रममा धरानस्थीत बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ मुटु तथा मृगौला रोग विषेशज्ञ डा सञ्जीव शर्माले नेपालीहरुको आहार विहार र जीवनशैलीका कारण रक्तचाप सम्बन्धी समस्या बढी आउन थालेको बताउनु भयो ।
‘बिना पैसा आफैले आफ्ना शरिरका लागि गर्नु पर्ने सामान्य कुरा नगरेर मानिस रोगी हुँदैछन,’ डा शर्माले भन्नुभयो, ‘घाममा बस्ने, परिश्रम गर्ने र दैनिक एक घण्टा हिड्ने गर्दा शरिरमा धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।’
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्वास्थ्यका बारेमा आम मानिसले जानकारी नराख्ने गरेकैले रोगीको संख्या बढ्न थालेको बताउँदै यस्ता कार्यक्रमले स्वास्थ्य प्रति जनचेतना बढाउने बताउनु भयो ।
मेची अभियानका संयोजक विजय डालमियाको सभापतित्वमा भएको कार्यक्रममा अन्तर्गत मेचीनगर क्षेत्रका उच्च रक्तचाप र मुटु सम्बन्धी बिरामीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
काकरभिट्टा स्वास्थ्य केन्द्रमा सम्पन्न भएको कार्यक्रम स्वास्थ्य केन्द्र प्रमुख लेखनाथ खतिवडाको स्वागत मन्तब्य र ज्ञानेन्द्र निरौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति:
बुधबार, जेठ ४, २०७९, १४:५९:००