झापा, बैशाख २९ । स्थानीय तह निर्वाचनको मतगणनाका लागि मेचीनगर नगरपालिका कार्यालयमा तयारी पुरा भएको छ । मेचीनगरका सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईका अनुसार मतगणनाको समेत तयारी पुरा भइसकेको छ ।
मतगणना स्थललाई कडा सुरक्षा घेरामा राखिएको भट्टराईले जनाकारी दिनु भयो । ‘फलामे जारी भित्र मतगणना गर्ने तयारी गरेका छौं,’ सहायक निर्वाचन अधिकृत भट्टराईले भन्नुभयो, मतगणना ‘स्थलमा सिसि क्यामेरा जडान गरिएको छ ।’ भट्टराईका अनुसार मतगणना स्थलको सिसि क्यामेराको फुटेज निर्वाचन आयोगको केन्द्रिय कार्यालय काठमाण्डौबाट सिधै हेर्न सकिने र नगरको निर्वाचन अधिकृतले भिडियो ट्याकिङ्ग गर्न सक्ने छ ।

मतगणनास्थलमा मोबाइल फोन पूण रुपमा निधेष गरिएको छ भने पानीका बोतल समेत लान नपाइने व्यवस्था गरिएको छ । एउटा राजनितिक दलबाट दुई जना गणना प्रतिनिधि एक पटकमा बस्न पाइने व्यवस्था गरिएको छ । तीन ठाउँबाट मतगणना सुरु गरिने र दुइ वटा ठाउँ थप गरी जम्मा पाँच ठाउँमा मतगणना गर्ने तयारी गरिएको भट्टराईले बताउनु भयो ।
शुक्रबार बेलुका मतदान सम्पन्न भइसके पछि मतपेटिका नगरपालिकाको कार्यालयमा ल्याइने र शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत भट्टराईले सेतोपत्रलाई जनाकारी दिनु भयो ।
प्रकाशित मिति:
बिहिबार, वैशाख २९, २०७९, १६:१४:००