झापा, बैशाख २९ । भोलि हुने स्थानीय तहको मतदानका लागि मेचीनगर नगरपालिकामा सबै तयारी पुरा भएको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताउनु भयो । मेचीनगरमा ३५ मतदान स्थलका १०२ मतदान केन्द्रमा भोलि विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने फुयलले बताउनु भयो ।
मेचीनगरमा ७७ निर्वाचित हुने पदका लागि ३२० जना उम्मेद्वार चुनावी मैदानमा छन । त्यस मध्ये मेचीनगर ११ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसक्नु भएको छ भने बाँकी ३१९ उम्मेद्वारबाट ७६ जना निर्वाचित हुनेछन ।
भोलिको मतदानका लागि मेचीनगरमा १०२ मतदान अधिकृत सहित ८१६ जना निर्वाचन कर्मचारी खटिएका छन भने सुरक्षाकर्मी र पर्यवेक्षक समेत परिचालन गरिएको निर्वाचन अधिकृत फुयलले जानकारी दिनु भयो ।
मेचीनगरमा ४५११२ पूरुष र ४५०९० महिला गरी कुल ९०२०२ मतदाता रहेका छन । नगरको वडा नं. ६ मा सबैभन्दा बढी ११५२५ जना मतदाता रहेका छन भने सबैभन्दा कम वडा नं. ११ मा ३९९३ जना मतदाता रहेका छन ।
प्रकाशित मिति:
बिहिबार, वैशाख २९, २०७९, १६:००:००