झापा, बैशाख २५ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन मत संकेत गर्न नसक्ने मतदातालाई एकाघरको सदस्यले मत संकेतका लागि सहयोग गर्न पाउने भएको छ ।
दृष्टि विहिन तथा शारिरीक रुपमा अशक्त, अपाङ्ग वा अन्य कुनै कारणले भोट हाल्न नसक्ने अवस्था भएका मतदाताका लागि उसैको एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको रोहबरमा मत संकेत गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले आइतबार एक बिज्ञप्ती जारी गरी मत संकेत गर्न नसक्ने मतदाताका लागि सहयोग गर्न एकाघरको सदस्य हुनु पर्ने उल्लेख गरेको हो ।
मतदान अधिकृतले मत संकेत गर्न नसक्ने मतदाताको एकाघरको सदस्य हो भन्ने कुरा यकिन गरेर मात्रै सहयोग गर्न दिने आयोगले जनाएको छ । त्यस्तै मत संकेत गर्न सक्ने वा नसक्ने भन्ने पनि मतदान अधिकृतले नै यकिन गर्नु पर्ने आयोगको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
आईतबार, वैशाख २५, २०७९, १९:४२:००