झापा, चैत २३ । अबदेखि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले स्थानीय तहबाट नै उपचार खर्च पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले गत हप्ता स्वीकृत गरेको कार्यविधिअनुसार अबदेखि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले स्थानीय तहबाट नै उपचार खर्च पाउने भएका जानकारी दिनुभयो । उहाँका अनुसार अब मिर्गौला पीडित व्यक्तिहरूको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ ।
सम्बन्धित पालिकाले सेवाग्राहीको खाता नम्बरमा हरेक तीन–तीन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गरिदिने उहाँको भनाइ छ । उपचार खर्चबापत सो रकम पहिले नै पेन्सन पाइराखेकाहरूले भने नपाउने तर ज्येष्ठ नागरिक तथा एकल महिलाले भत्ता पाइरहेको भए पनि उपचार बापतको रकम पाउने डा. अधिकारीले स्पष्ट पार्नुभयो । सरकारले गत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
बुधबार, चैत २३, २०७८, २०:०२:००