काठमाण्डौ, फागुन २७ । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको पहिलो चरणको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । दुई नेताबीच हालै भएको वार्तामा युद्धविरामबारे कुनै सहमति नभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पण सरहको भएकाले कुनै सहमति नभएको बताउनुभयो ।
यद्यपि, युक्रेनमा मानवीय सहायता उपलब्ध गराउने विषयमा भने दुई पक्ष सहमत भएको कुलेबाले बताउनुभएको छ । समस्या समाधानका लागि भने आफू पुनः वार्तामा बस्न तयार रहेको उहाको भनाइ छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसको सैन्य कारबाही योजानाअनुसार नै चलिरहेको दाबी गर्नुभएको छ । युक्रेनलाई हतियार दिएर पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उहाको भनाई छ । युक्रेनले रुसको सुरक्षा चासोप्रति वास्ता नगरेको तथा युक्रेनी भूमिलाई अमेरिकाले जैविक अस्त्र विकास गर्न प्रयोग गरेको उहाको आरोप छ ।
प्रकाशित मिति:
शुक्रबार, फागुन २७, २०७८, २१:१०:००