काठमाण्डौ, फागुन २४ । सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ । दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने झोल मल अब सरकारी तथा निजी कम्पनीले आयात गरेर बिक्री गर्न पाउने गरी अनुमति दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । झोल मल प्रयोगका लागि अनुमति दिएसँगै मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बताउनुभयो ।
कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा दाना मल भन्दा झोल मलको प्रयोगले प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ । बिरुवा बढेपछि सानो क्षेत्रमा पम्प वा स्प्रेबाट र ठूलो क्षेत्रमा ड्रोनबाटसमेत यस्तो मल छर्न सकिने मन्त्रालयले जनाएको छ । एक बोरा दाना युरिया बराबर हुने आधा लिटरको झोल मल एक बट्टालाई २५० भारतीय रुपैयाँ पर्ने भएकाले यो मल सस्तो र समयको हिसाबले किफायती पनि रहेको मन्त्रालयको भनाइ छ । भारतमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका थिए । युरियाको झोल मल ल्याउने अनुमति पाएसँगै नेपालमा आयात अनुमति पाउने रासायनिक मलको सङ्ख्या ५३ पुगेको छ । अनुमति सम्बन्धी कानुन राजपत्रमा प्रकाशनका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन २४, २०७८, १४:३२:००