झापा, माघ २३ । भारतीय चर्चित गायिका लता मङ्गेशकरको निधन भएको छ । स्वर कोकिला भनेर चिनिने उहाँको ९२ वर्षको उमेरमा बिहान निधन भएको हो । कोरोना भाइरसको सङ्क्रमण भएपछि यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना भएका मङ्गेशकरको आईसीयूमा उपचार भइरहेको थियो । केही समययता उहाँको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँको निधनमा भारत सरकारले दुई दिन राजकीय शोकको घोषणा गरेको छ ।
यस्तै आज र भोलि झण्डा आधा झुकाउने र आधिकारिक मनोरन्जनको कुनै पनि कार्यक्रम नगर्ने निर्णय पनि भएको छ । यस्तै लता मङ्गेशकरको राजकीय सम्मानको साथ मुम्बइको शिवाजी पार्कमा अन्तिम संस्कार गरिएको छ । १९२९ सेप्टेम्बर २८ मा मध्य भारतको इन्दौर सहरमा जन्मनुभएका उहाँले नेपाली भाषामा समेत दर्जनौ गीत रेकर्ड गराउनुभएको थियो । सन् १९४३ मा १३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराउनुभएकी मङ्गेशकरले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाउनुभएको थियो ।
प्रकाशित मिति:
आईतबार, माघ २३, २०७८, २१:११:००