धुलावारी, पुस २९ । गेम्स एन्ड स्पोर्टस एकाडेमी धुलावारीको आयोजनामा भएको त्रिकोणिय महिला क्रिक्रेट प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ ।
आज धुलावारी माविको खेलमैदानमा भएको फाइनल खेलमा चितवनको मुन स्टोन एकाडेमीलाई आयोजक टिमले पराजित गरेको हो ।
टस जितेर व्याटिङमा उत्रिएको मुन स्टोनलाई १०६ रनमा सीमित गरेर आयोजक टिमले २ विकेट गुमाएर १५ ओभरमा लक्ष्य हासिल गरेको थियो । प्रतियोगितामा लहान क्रिक्रेट क्लव तेस्रो भएको थियो ।
खेलपछि एक समारोहमा बिजयी र उपबिजयी टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र आयोजक एकाडेमी तथा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्वाङले वितरण गर्नु भएको थियो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी आयोजक टिमकी रीतु कनौजिया घोषित भएकी थिइन भने बेस्ट बलर आयोजक टिमकी राधिका श्रेष्ठ र बेस्ट व्याटर मुन स्टोन एकाडेमी चितवनकी वृन्दा कटुवाल भएकी थिइन ।
उत्कृष्ट खेलाडी घोषित भएकी रीतु नेपाली राष्ट्रिय क्रिक्रेट टिमकी पूर्व कप्तान समेत हुन । कार्यक्रममा क्रिक्रेटको नेपाली राष्ट्रिय टोलीका सुमन खतिवडा र काजल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
समारोहमा प्रशिक्षक डिल्ली नेम्वाङ, वरिष्ठ खेलाडी सुमन खतिवडा र काजल श्रेष्ठले समेत मेडल वितरण गरेका थिए ।
प्रकाशित मिति:
बिहिबार, पुस २९, २०७८, १९:२९:००