बिर्तामोड, पुष २७ । नेकपा एमाले झापाको जिल्ला सदस्य चयनका लागि पुष ३० गते मतदान हुने भएको छ । अध्यक्ष सहित जिल्लाका सबै पदाधिकारी र केही जिल्ला सदस्यहरु पनि सर्बसम्मत चयन भइसके पनि केही जिल्ला सदस्य चयनका लागि भने सहमति हुन नसके पछि मतदानको प्रक्रियाबाट सदस्य चयन गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत गजेन्द्र आचार्यले जानकारी दिनु भयो ।
‘५ पदाधिकारी र केही जिल्ला सदस्य सर्बसम्मत चयन भइसकेको छ,’ आचार्यले भन्नुभयो, ‘बहुसंख्यक जिल्ला सदस्यहरु चयन गर्न बाँकी रहेकाले त्यसका लागि निर्वाचन तालिका सार्बजनिक गरेका छौं ।’
निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार उम्मेद्वारी फिर्ता पुष २८ गते बेलुका ४ बजेसम्म, अन्तिम नामावली प्रकासन २८ गते बेलुका ५ बजे र मतदान ३० गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि तोकिएको छ ।
एमाले झापाको १० औं जिल्ला अधिवेशन पुष २३ गते सूरु भएको थियो । एमाले झापाको अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिव शिव ढुंगेल, उपसचिवमा चन्द्रा श्रेष्ठ र असारु राजबंशी सर्बसम्मत निर्वाचित हुनु भएको छ । एमाले झापामा ५ पदाधिकारी सहित १५० सदस्यीय जिल्ला कमिटि हुनेछ ।

प्रकाशित मिति:
मंगलबार, पुस २७, २०७८, १२:३१:००