झापा, पुष २४ । भारतबाट नेपाल आएका ९ जनामा कोरोना संक्रमण देखिएको छ । पुर्वी नाका काकरभिट्टामा रहेको एन्टिजेन परिक्षण केन्द्रमा हिजो र आज संकलन भएका नमूना परिक्षण गर्दा भारतबाट नेपाल प्रवेश गरेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय काकरभिट्टाले जानकारी दिएको छ ।
हिजो संक्रमण पुष्टि भएका ७ जना मध्ये झापाका २ जना, धादिङका २ जना, सुनसरी, काठमाण्डौ र गुल्मीका एक एक जना रहेको प्रहरीले जनाएको छ । हिजो संक्रमित पुष्टि भएका सातै जनाको थप परिक्षणका लागि नमूना बिराटनगरस्थीत प्रादेशिक प्रयोगशाला पठाइएको र उनीहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट भए नभएको समेत परिक्षण गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिरहेकाले पनि भारतिय बाटो हुँदै नेपाल प्रवेश गरेकामा संक्रमण पुष्टि भएकाले पनि ओमिक्रोन भए नभएको यकिन गर्न उनीहरुको नमूनाको थप परिक्षणका लागि पठाइएको र आइतबारसम्ममा अन्तिम रिपोट आउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
त्यस्तै आज पनि भारतबाट नेपाल प्रवेश गरेका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित पुष्टि हुनेमा पुर्वी रुकुम र भोजपुरका एक एक जना रहेको इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ । संक्रमित सबैलाई विशेष ब्यवस्था गरेर होम आइसोलेशनमा पठाइएको जनाइएको छ ।
प्रकाशित मिति:
शनिबार, पुस २४, २०७८, १७:५८:००