धुलाबारी, मंसिर १७ । झापा मेचीनगर १० धुलाबारीकी २० बर्षीया श्रेया खतिवडाले छोरा सरह नै बुवाको १३ दिने काजकिरिया गरिरहनु भएको छ । मंसिर ११ गते श्रेयाका बुवा ४७ बर्षीय राजेश खतिवडाको निधन भए पछि एक्ली सन्तानका रुपमा रहनु भएकी छोरी श्रेयाले आफ्नो बुवाको १३ दिने काजकिरिया आफैं गर्ने बताए पछि परिवारले सहमति जनाएको थियो ।
‘बुवाको छोरा भने पनि छोरी भने पनि म नै हुँ’ आशौच बारिरहनु भएकी श्रेयाले सेतोपत्रसंग भन्नुभयो, ‘बुवा बित्नु भए पछि मैले काजकिरिया आफैं गर्छु भनें, सबैले मान्नुभयो ।’ काठमाण्डौमा डेभलपमेन्ट स्टडीजको चौथो बर्षमा अध्ययन गरिरहनु भएकी श्रेयाले भन्नु भयो, ‘मलाई कसैले भनेको होईन आफ्नै मनले बुवाको काजकिरिया आफैं गर्छु भन्ने लाग्यो ।’
आफुले काजकिरिया गर्ने भने पछि परिवारका सदस्यले सहमति जनाएको श्रेयाले बताउनु भयो । १३ दिने काजकिरियामा श्रेयालाई वहाँकी आमा शर्मिला त्रिखत्री र ठुलोबुवा पाण्डब खतिवडाले साथ दिइरहनु भएको छ ।
तत्कालिन काकरभिट्टा गाउँबिकास समितिका अध्यक्ष शशि खतिवडाका कान्छा छोरा राजेशलाई कोरोना संक्रमण भएर चार महिना भन्दा बढी उपचार गरिएको थियो । कोरोनाको रिपोट नेगेटिभ आए पनि उपचारकै क्रममा वहाँको निधन भएको थियो ।
प्रकाशित मिति:
शुक्रबार, मंसिर १७, २०७८, १५:२१:००